Ticker

6/recent/ticker-posts

छोरी मान्छे भाग- ०३

 


कक्षा १२ को सेक्सन 'सि' मा विद्यार्थीहरुलाई केहि हिसाब गर्न दिएर बसेको छु। हिजोको बियरले बिहानै देखि टाउको दुखिरहेको छ। कोहि हिसाब सकेर त कोहि गर्दै नगरीकन गफिदै बसेका छन्। आज उनीहरुलाई हप्काउने पनि मन छैन न त पढाउन नै। आज मैले कुनै पनि कक्षामा पढाइन। यो अन्तिम घन्टि सकिएपछि कुन बेला घर पुगेर एकान्तमा बस्नु झै भएको छ।

घर आइपुगेपछि मलाई आज खाना बनाउने जागर नै चलेन। ३-४ दिन देखि हुस्सु लागेता पनि आज भने विराटनगरमा न्यानो घाम लागेको छ। घाम ताप्नलाई चुरोट को बट्टा र सलाइ बोकेर छतमा उक्लिन्छु।

घाम ताप्दै चुरोट सल्काउछु। लामो सर्को तान्दै उडाउछु। दुखेको टाउको अलिक हलुङ्गो हुन्छ। फेरी अर्को सर्को तान्दै भुइँमा हेर्छु, आफ्नै छायाँ देख्छु। छायाँ हेर्छु अनि उनैलाई सम्झन्छु। यो एक हप्तामा मैले उनलाई यति महत्व दिएछु कि उनी मेरो नजिकको मान्छे जस्तो लाग्न थालेको छ। पहिलो भेटमा उनको सुन्दरता र शरलताले आकर्षित गर्यो। केहि दिन याद र खोजि मै भौतारिए र हिजो गएर बाबुको चितालाई दागबत्ती दिएर क्रियामा बसेकी छोरी मान्छेको सामर्थ्य हेरे। यी सबै कुराहरुले गर्दा उनी मेरो मनमा वास गरेकीछिन्। मनमा वास गरेको मान्छेलाई चोट परेकाले म नि दुखि भएको छु। 

यसो सम्झन्छु उसको दुखमा त साथ दिन कोहि पनि छैनन् जस्तो लाग्छ। घर जाँदा उनको आमालाई पनि देखिन सायद छैनन् होला। उनी एक्ली छोरी भएता पनि क्रिया बस्नलाई बुबा कै दाजुभाई काका आफन्त इष्टमित्र कोहि रहेछन् त? भएपनि किन आएनन् त? मनमा अनेक प्रश्नहरु खेल्न थाल्छ। तीन वटा चुरोट सकिँदा पनि मेरो छटपटी नमेटिएपछि छायालाई भेट्न मिलन चौक तर्फ लाग्छु। 

आज छाया घर अगाडि बाटो छेउमा परालको पिर्का ओछ्याएर घाम ताप्दै बसेकि छिन्। म छेउमा पुग्छु एकैछिन उभिन्छु। हिजोकै दिदी ले मुढा ल्याएर दिनुहुन्छ अनि मैले लिएर गएको स्याउ र सुन्तलाको पोको समाउन दिन्छु। 

ती दिदि भित्र गएसी  आज चाहिँ घाम लाग्नाले जाडो त्यत्ति छैन है भनेर गफको बाटो खोल्छु। उनी टाउकोले इशारा गरेर  सहमति जनाउ छिन्। केहिबेर फेरि वातावरण शान्ता हुन्छ। म फेरि गफलाई निरन्तरता दिन खोज्छु। "मलाई तपाईको बारेमा जान्न मन छ, बाबालाई खास के भएको हो?, अनि हजुरको आमा हुनुहुन्न? यस्तो बेलामा नि आफन्त नातागोता देख्दिनँ। मैले केहि कुरामा सहयोग गर्न पाए खुसी हुनेथिए", हिम्मत गरेर मैले मनमा रहेको प्रश्नको भारी एक एक गरि बिसाए। 

उनी म तिर हेर्दै नहेरी भुइँको घास चुढ्दै बसिन् । मैले फेरि जोड गरे भन्नुहोस् मन हल्का हुन्छ। मैले हार नमान्ने देखेसी उनी सानो स्वरमा बोलिन्,"कोहि आफ्ना भएर नि पराइ छन्, तँपाई चाहि पराइ भएर पनि किन आफ्नै जस्तो गर्नुहुन्छ? न चिनजान, न कुनै सम्बन्ध किन यसरी पछि लाग्नुभएको? मेरो को छन् को छैनन् जानेर के गर्नुहुन्छ?"

सानो स्वरमा तर म संग दिक्क लागे जसरी भनिन्। मलाई थप बोल्न असहज भयो। उनी पनि केहि नबोली उठेर भित्र गइन्। मैले रोक्ने कुरै थिएन न केहि भन्न नै सके। मलाई नआएको भए हुन्थ्यो जत्तिकै भयो। अनि म पनि उठेर आफ्नो बाटो लागे। 

बाइक स्टार्ट गर्दै गर्दा, भाइ चिया खाएर जानुन भन्दै छेउको घरबाट अघि कि दिदिले बोलाउनुभयो। निकै कर गरेपछि मैले नाइ भन्न सकिन अनि चिया खान बस्ने भए। यी दिदि त छाया की छिमेकी, पक्कै छायाको बारेमा सबै थाहा होला भन्ने भयो। अनि त्यो रुने बुढि आमा यीनै कि सासु हुनुहुदो रहेछ। 

एकछिन् पछि दिदीले चिया ल्याएर दिँदै भन्नुभयो, भाइ तपाईं को छ नि? हामी आफन्त त कोहि पनि आएको देख्दैन त।"

"म कान्छा दाई लाई चिन्थे, उहाँको चिया पसलमा सधैं भेट हुने गर्थ्यो। तर उहाँको बारेमा चाहि केहि थाहा छैन‌ कहिले पनि घरपरिवार को विषयमा कुरै गरिएन। उहाँले निकै दिन पसल नखोलेपछि खोजी गर्दै आए।"

नेपाली भाषा अलि चाडै बोले क्यारे दिदिले जसो तसो बुझ्नुभयो तर  छेउ की आमाले चाहिँ खासै बुझ्नभयो जस्तो लागेन। 

चिया खाँदै छायाको विषयमा जान्ने इच्छा जाहेर गरे। तर ती छिमेकीलाई पनि खासै थाहा रहेनछ। कान्छा दाई त्यहाँ बस्न थालेको ४-५ महिना मात्र भएको रहेछ। त्यो दुई कोठे घर पनि आफ्नै हैन रहेछ, डेरामा बसेका रहेछन्। छाया त्यही मिलन चौकको लालिगुराँस विध्या मन्दिर पढाउने रहिछिन्। त्यसैले पनि होला यहाँ डेरामा बसेका नत्र त भृकुटी चौकमा चिया पसल भएपछि यत्रो टाढा किन डेरा गरेर बस्थे होलान् र?

दिदिलाई मैले कान्छा दाई लाई चाहिँ के भएर यस्तो भयो भनेर पनि सोधे। कान्छा दाई अत्याधिक मदिरा सेवन गर्ने कुरा थाहापाए। प्रेसर र सुगरका बिरामी पनि रहेछन्। ज्वरो आएर सारो परेका बेला पनि टन्न जाड धोकेर सूतेछन् तर फेरि कहिल्यै उठेनन्। मैले निमोनियाको शंका गरे त्यसमाथि सुगर र प्रेसर। 

केहिबेर त्यही बसेर गफ गरे अनि विदा मागेर बाहिर निक्लिए। आउदै गर्नु ल तुलसी भाइ भनेर चन्द्रिका दिदि पनि बाहिर सम्म आउनुभयो। केहि बेरको बसाई पछी हामी एक-अर्कामा परिचित भैसकेका थियौं। 

बाइक तर्फ लाग्दै गर्दा छाया फेरि घाम ताप्न निक्लदै थिइन्। उनि पिर्का भएको ठाउँमा पुग्नै नपाइकन पुर्लुक्क लढीन्।  चन्द्रिका दिदि दौडिएर छाया लाइ उठाउन जानुभयो। म पनि संग संगै दौडिएँ। तर नजिक पुगेपछि छायाले छुन दिइनन्। म उठ्न सक्छु भनेर बिस्तारै घिस्रीएर पिर्का मा बसिन्। 

म हतारिएर चौक गए अनि एक जना मेडिकल अफिसरलाई लिएर आए। उनले पुरानो रोग केहि नभएकाले प्रेसर लो होला भन्ने कुरा गरे। प्रेसर नाप्न छायाले दिइनन् । क्रियामा बसेको मानिसले अरुलाई छुन हुदैन भन्ने छ। सायद उनी बुबाको कामकाज विधिपुर्वक गर्न चाहन्छिन्।उनी हिजो भन्दा आज अझै बढि कमजोर देखिन्छिन्। यत्तिका दिन सम्म नुन बारेकी छिन् त्यसमाथि अलिनो नि मज्जाले खान पाउनु छैन, धन्न टिकेकी छिन् जस्तो लाग्छ। 

केहि बेर आराम गरेपछि भित्र गएर मिस्री पानी र फलफुल खाइन्। म झन्डै आधा घन्टा जति त्यहाँ बसे चन्द्रिका दिदि संग गफ गरेर। उनी केहि बोलिनन्। हिड्ने बेला माफ गर्नुहोला, मलाई पनि अलि बढि गनगन गरेजस्तो महसुस भयो भने। उनले मलाई माफि दिए जसरी ठिकै छ भनिन्। अनि म त्यहाँ बाट बिदा मागेर हिडे। हिड्दै गर्दा छायाले भनिन्, "आउदै गर्नु है।"

क्रमशः

छोरी मान्छे भाग- ०१

छोरी मान्छे भाग- ०४



Post a Comment

0 Comments