Ticker

6/recent/ticker-posts

छोरी मान्छे भाग- ०५

निकै बेरसम्म फोन बजेपछि उठ्छु। मन नलागि नलागि तातो सिरक छाडेेर चार्जमा राखेको मोबाइल हेर्न जान्छु। प्रिंसिपल सरको रहेछ। तीन चोटि गरिसक्नुभएको रहेछ। समय हेर्दा थाहा भयो, बर्बाद पो भएछ, ८ बजिसकेछ। विद्यार्थी हुँदा त ढिला उठ्नाले धैरै चोटि क्याम्पस गइएन। तर शिक्षक भएपछि भने चाहि यो पहिलो अनुभव थियो। प्रिंसिपल सरलाई कल ब्याक गरे अनि बिरामी भएको नाटक गरे। कम्तीमा जानकारी त गराउनु पर्छ भनेर सर जंगिए पनि सम्झाउन सफल भए। 

फ्रेस भएर किचन प्रवेश गरे। चुरोटको धुवाँ उडाउँदै एक कप चिया बोकेर लिभिङ रुममा आए। छायाको विवाह भैसकेका कुराले मेरो निन्द्रा लुट्यो। बिहान ४ बजे सम्म त एक चोटि नि आखाँ झिमिक्क पारेको थिइन। चुरोट कति वटा ताने पत्तो छैन। जम्मा एउटा बाकिँ रहेछ र अहिले तान्दै छु। ४ बजेपछि चाहिँ कति बेला भुसुक्कै निदाएछु थाहै भएन। आज त अल्राम बजेको नि थाहा पाइन। प्रिंसिपल सरले उठाउनु पर्यो। पहिले कलेज पढ्न जाँदा पनि अल्राम बजेको कहिल्यै थाहा पाउँदिन थिएँ। आमाले उठाउनु हुन्थ्यो। अनि आमा नभएको दिन जहिले पनि क्याम्पस छुट्थ्यो। 

कुरै कुरामा आमालाई सम्झन्छु। आमाबुबालाई फोन नगरेको पनि थुप्रो भयो। आज गर्नुपर्यो भनेर चुरोट सकिएपछि भिडियो कल गर्छु। बुबालाई गरेको फोन आमाले उठाउनु हुन्छ। आमा ढोग गरे भन्न नपाउँदै चाडै अमेरिकी आएस् भनेर आशिर्वाद दिनुहुन्छ। 

मलाई झनक्क रिस उठि हाल्छ अनि भन्छु," कति अमेरिका- अमेरिका भनेको? कति भन्नु मलाई नेपाल मै बस्नु छ भनेर। फोन गर्नु हुदैन किचकिच गरिहाल्नु पर्ने?" 

आमा नि जंगिदै भन्नुहुन्छ, "एक्लै त्यहाँ बसेर चाहिँ के गर्छस्? बाउ-आमा दाजु भाउजु सबै यतै भएपछि। कति सम्झाउदा नि नलाग्ने कुन दिना जन्माएछु नि।" 

"मैले पहिले भनेको म नेपाल मै बस्छु म संग बस्ने भए यतै बस्नु भनेर। फोन गर्नु नै बेकार छ।" भन्दै फोन काट्छु।

आमा अमेरिका पुगेको दिन देखि हाम्रो सधैं यहि विषयमा झगडा पर्छ, आमा अमेरिका आइज भन्ने अनि म नेपाल मै बस्छु भन्ने।त्यहि भएर फोन गर्दा बुबालाई नै गर्छु सबै खबर सोधेर राख्ने बेला आमा संग बोल्छु। तरपनि म यति सारो चाहिँ रिसाउदिन थिए। तनावमा भएकाले होला आज आमा संग चर्काचर्की पर्यो।

त्यसै त मुड अफ थियो आमा संगको झगडाले झन् तनाव भयो। चुरोटको बट्टा नि रित्तिएछ, आफूलाई भने तलतल लागिसक्यो। किन्न जान नि अल्छी लागेकाले रातभरि तानेका चुरोटका ठुट्टा भेला पारेर दुई-दुई पप ताने। त्यसपछि हल्का सन्चो भएजस्तो लाग्यो। हिजो पंडित बाजे हिँडेपछि एकछिन पनि छायाकोमा बस्न मन लागेन। चन्द्रिका दिदिको मन राख्न चिया पिएर हिँडि हाले। घर आएपछि खान पनि मन लागेन। भोकै सुत्नाले होला अहिले पेट कराएको। 

भोकले मात्रै हैन रिसले पनि रन्थनिएको छु। मलाई आफै संग एकदमै रिस उठ्छ। आफ्नो हालत हेर्छु यो १०-१२ दिनमा कति परिवर्तन भएको छु। जति बेलै तनावमा हुन्छु, दिनको एउटा चुरोट खाने मान्छे बट्टा नै रित्याउन थाल्या छु। रातभरि निदाउन, क्याम्पस पनि छुट्न थाल्यो। मलाई केहि गुनासो थिएन जिन्दगी संग, एक्लै भएपनि आफ्नो हिसाबले बाँचेको थिए। साँच्चै भन्नु पर्दा म सुखि थिए। तर आज ठिक उल्टो भएको छ। त्यो पनि २-४ दिन देख्या केटीको लागि। म भने अनेक सपना बुन्दै बसे उता उसको चाहिँ विवाह समेत भैसकेको रहेछ। उसको पिडामा मैले किन दुखि हुनुपर्ने? संसारमा लाखौं करोडौं मान्छे दुखि छन् । सबैले आफ्नो जिन्दगीको सुख दुःखको भोगचलन गर्छन्‌। मेरो जिन्दगीमा आइपर्ने दुखको सामना गर्छु तर अब अरुको पछि लागेर आफ्नो जिन्दगी नर्क बनाउन मन छैन। यसरी अनेक थोक भनेर आफ्नो मनलाई सम्झाइबुझाई गर्छु। अनि अब देखि यो कुरा बाट टाढै रहने अनि पहिलेको जस्तै दैनिकिमा फर्कने अठोट लिन्छु। 

सबैभन्दा पहिले त भोको पेट भर्नु पर्यो भनेर चौक तिर निक्लिए। एक केजी कुखुराको मासु किने। सब्जी पसलमा गएर टमाटर, प्याज, धनियाँ, लसुन, अदुवा लगायत लिए। चुरोट र दालमोट त छुटाउने कुरै थिएन।

घर आएपछि सुरुमा एक केजी मासुलाई फ्राइ गरे। लगभग पौने केजी भुटेको मासु छुट्टै राखे। दुई- चार पिस चपाउदै धनियाँ, लसुन, अदुवा, टमाटर लगायत मरमसला हालेर सुप बनाए अनि आधा गिलास चामल र मासु हालेर सिठ्ठी लगाए। त्यसपछि हिजो देखिको भोको पेट भरे। टन्न खाएर एकछिन् आराम गरेपछि भाडाकुडा धुए, किचन सफा गरे। कोठाको सफाई गरि नुहाउने सबै काम सके। आज भने चाहिँ बिहानै बाट बाक्लो हुस्सु लागेर सित झरिरहेको हुनाले लुगा भने धोइन। सबै काम सकिदा निकै थाके। सोफामा पल्टिएर चुरोट सल्काएँ। तर म अझैं मन भुलाउन सकिरहेको छैन। मलाई दिक्क लाग्छ अनि। मोबाइलमा कोड भाषामा ब्याट्री भनेर सेभ गरेको नम्बर निकाले अनि म्यासेज गरे।

"आज आउछौ ?"

"५००० चाहिँन्छ"

"३००० दिन्छु आजै फर्किनु"

"हुन्छ, कता आउनु?" 

"घरमै आउन जति सक्दो चाडो' 

"हस्"

झन्डै एक घन्टा पछि उनको फोन आयो। आइपुगिन् क्या र भनेर ढोका खोल्न गए। उनको फोन बज्नु अगाडि नै टेबल मासु, दालमोट र चुरोटको बट्टा अनि खुकुरी रमले सजिएको थियो। उनीसित खुकुरी रम को चियर्स संगै मेरो आजको दिनको दोस्रो अध्याय सुरु हुन्छ। तर उनी मेरो सामिप्यतामा हुँदा पनि म केहि महसुस गर्दिन। जे हुँदैछ त्यो मलाई कदापी ठिक लाग्दैन। रक्सि र चुरोटको नशाले लिप्त उनी म संग टाँसिन्छिन्। मलाई असहज लाग्छ अनि अलिक पर सर्छु। उनलाई हेर्दा छायाको आकृति मेरो आखाँ अगाडि झलझली आउँछ। उनी जोड गर्छिन् मलाई काबुमा पार्न तर मलाई यो कुरा झन् झन् गलत हो जस्तो लाग्छ। मेरो मन मर्छ अनि उसलाई बिदा गरेर म एक्लै बस्छु। मलाई एक्लै पिउनै आन्नद लाग्छ। यति आन्नद कि म रोकिने नाम नै लिन्न। म  लगातार पिइ नै रहन्छु।

फोनको घन्टि बजेको सुनेपछि झस्किन्छु, आज पनि क्याम्पस छुट्यो कि भनेर। फोन हेर्दा साँझको ६ बजे चन्द्रिका दिदिले गर्नुभएको फोनको घन्ट बज्दै थियो। उठाएर हेल्लो भन्न नपाउँदै, चन्द्रिका दिदि हतारिदै बोल्नुहुन्छ,"तुलसी भाइ कता गायब हुनुभएको आज? छाया  निकै सारै परेर अस्पताल ल्याएर भर्ना गरेका छौं।"

क्रमशः


छोरी मान्छे भाग- ०१


अर्को भाग - हरेक शुक्रबार

keep visiting www.sheelalekh.com


Post a Comment

0 Comments