तर छाया भने त्यहाँ बाहिर थिइनन्। चन्द्रिका दिदिले मुढा दिदै बस्न इशारा गर्नुभयो। व्यस्त पण्डित बाजे र चन्द्रिका दिदिलाई बोलाइन। अलि परतिर बुढि आमाको छेउमा गएर बस्दै भने,"मां गोड लाग्छुन, अस्ले छै?" मुस्कुराउदै, "सउकुछु ठिक्के छि बउ" भन्नु हुन्छ।
"हेबस छाया खोइ त? बाहरमे नैछु त?", जिज्ञासा राख्छु। "हल्का घुम्नी लग्ली कहिके भित्रियेमे आराम कर्छी।", भन्ने जवाफ आएपछि म भित्र लाग्छु।
भित्र गएर हेर्दा छाया त निदाएकी रहिछिन्। उनको निन्द्रा भंग गर्ने मन लागेन अनि फेरी बाहिर आए। चन्द्रिका दिदि चिया बनाएर ल्याउछु भनेर घर तिर लाग्नुभयो।
पण्डित बाजेले बाबुलाई त चिनिन नि भनेर प्रश्न गर्नुभयो। पण्डित बाजेलाई पनि चन्द्रिका दिदिलाई भनेकै कुरा भने।
"कसो थारु बस्तीमा आएर बसेछन् नत्र गाह्रो पर्ने", पण्डित बाजेले लामो सास फेर्दै भन्नुभयो। तर मैले कुरा बुझिन अलमल्ल परे। बाजेले मेरो अनुहार पढेर फेरि भन्नुभयो,"विचार गर्नुहोस् त यो ठाउँमा थारु बस्ती नभएर पहाडे बस्ती हुँदो हो त के हुन्थ्यो होला? छोरी ले किरिया बसेको समाजले पचाउन सक्थ्यो होला र? यी नानीलाई आफ्नो पिडा भन्दा समाज संग लड्न अझ गाह्रो हुन्थ्यो। कसो यो दयालु थारु बस्तीमा आएर बसेछन् र यी नानीलाई छरछिमेकी सबैले सहयोग गरेका छन्।"
मलाई पण्डित बाजेको कुरा चित्त त बुझ्यो तर उहाँले भन्दा चाहिँ आश्चर्य लाग्यो। अनि प्रश्न गरे,"तपाईं पनि त्यही समाजको, अझ यो रितिरिवाज धर्मसंस्कृतिको ज्ञानी, संरक्षक अनि नेतृत्वकर्ता तर तपाईंकै विचार त फेरि यो समाज संग त मिलेन नि?"
पण्डित बाजेले मुस्कुराउदै भन्नुभयो," हेर्नुहोस् बाबु, म अन्धविश्वास र रुढीवादले भरिएको परम्परावादी सोच भन्दा पनि शास्त्र मा उल्लेख गरिएको कुरा अनुसरण गर्छु। शास्त्रमा मृत्यु पछि किरिया लोप गर्न नहुने कुरा मात्र उल्लेख गरिएको छ। किरिया छोरा वा छोरीले नै गर्नुपर्छ भनेर त शास्त्रमा काहीँ पनि व्यख्या गरिएको छैन। र रह्यो नियम, परम्पराको कुरा, यो त मानिसले आफूलाई अनुकूल लाग्ने बनाउने हो। यो त ठाउँ, समाज अनुसार फरक हुन्छ। हामीले अनुसरण गर्ने शास्त्रलाई हो । बाँकी त शास्त्रको परिधिमा रहेर आफुलाई जस्तो सजिलो हुन्छ त्यस्तै।"
"तपाईंको यो कुरा मैले त बुझे, यो थारु बस्तीका मानिसहरूले पनि बुझे तर के तपाई बस्ने समाजले बुझ्छ त? के समाजका मानिसले आफ्नो घरमा काजकार्य पर्दा फेरि पनि तपाईंलाई स्वीकार गर्लान् त?", मैले यो संवादलाई यथार्थपरक बनाउने प्रयास गरे।
पण्डित बाजेले थप्नुभयो," तँपाइलाई म एउटा पश्चिमतिरको घटना सुनाउछु बाबु। यसैगरी दुई छोरी बाबुको काजकिरिया गर्न बसे। केहि दिन पछि काजकिरिया गराउने पण्डितलाई उनकै निवासमा केहि समुहमा आएका नकाप धारीले हातपात गरे। यस्तै घटना म संग नि नघट्ला भन्न सकिन्न। मलाई यो समाज संग लडेर केहि स्थापित गर्नु पनि छैन र म एक्लै सक्दिन पनि। बुढेसकाल लाग्यो बिरामी पनि छु, अब छोरा नातिले गर्छन् म विश्राम लिन्छु।"
"त्यसोभए यो काजकिरिया गराउन किन आउनुभयो त?", म अझै प्रष्ट हुन खोज्छु।
बाजेलाई हतार भयो क्यारे घडि हेरेपछि हिड्ने तयारी गर्दै भन्नुहुन्छ,"छायाको विवाह मैले नै गराइदिएको हो। उसको घरमा जाँदा मलाई एकदमै इज्जत सम्मान गर्थिन्। अझ मेरी कान्छी छोरीको एकदमै मिल्ने साथी। घटना घटेपछि छायाले छोरीलाई फोन गरिछन्। अनि हामी आएर सहयोग गर्यौं। मेरो छोरो र ज्वाइँ नि आउनुभएको थियो नत्र त थारुको चलन नै अर्कै हाम्रो चलन अर्कै खोलामा सम्म लान पनि गार्हो पर्थ्यो। छोरी अझै पनि बिहान बेलुका आएर सहयोग गर्दैछे।"
म छक्क पर्छु विवाह गराइदिएको भन्ने सुन्दा। छायाको विवाह पनि पो भैसकेको रहेछ त। म टोलाउन थाल्छु। पण्डित बाजेलाई सोध्नुपर्ने प्रश्नहरुले मेरो मानसपटल भर्छन्। म बोल्न नपाउदै चन्द्रिका दिदि चिया लिएर आउनुहुन्छ। पण्डित बाजे चाहिँ मलाई हतार भयो भनेर बाटो लाग्नु हुन्छ।
क्रमशः
0 Comments