Ticker

6/recent/ticker-posts

छोरी मान्छे भाग- ०२

 


आज शनिबारको दिन बिहानै उठे। नुहाइधुवाइ, खानपिन लगायत सम्पूर्ण काम बेलैमा सकेर निक्लिए उनको खोजीमा। जाबो दुई दिन देखेको मान्छेको पनि कसैले यति सारो खोजी गर्छ र ?, जस्तो लाग्छ। तर खासमा भन्नुपर्दा मलाई उनको भन्दा बढी सुर्ता कान्छा दाईको भएको हो। बिगत दुई वर्ष देखि प्रायजसो हरेक बिहान मैले कान्छा दाई ले बनाएको चिया खाएको छु। कान्छा दाई संग मेरो एक खालको सम्बन्ध बसेको छ। उनै कान्छा दाई आज बिरामी भएर लापत्ता हुँदा मैले खोजि नगर्ने भन्ने कुरै थिएन।

मैले कान्छा दाईको चिया पसल छेउछाउका सबैलाई सोधे। तर कसैले भन्न सकेनन् कान्छा दाई कहाँ गए भनेर। कसैलाई कान्छा दाई कहाँ बस्छन् भन्ने पनि थाहा रहेनछ। कान्छा दाई को घर पत्ता नलागेपछि दिक्क मान्दै भृकुटि चौक कै एउटा चिया पसलमा बसेर चिया चुरोट खान थाले। केहि बेरमा घरधनी आएर पसले संग भाडा माग्न थाल्यो। मलाई ठुलै संकेत प्राप्त भयो अनि हतारिएर खाँदै गरेको चिया छोडेर चुरोट तान्दै कान्छा दाईको पसल तिर लागे। माथिल्लो तला चढे। त्यहाँको घरबेटी बाट थाहाँ भयो कि कान्छा दाईको बसाई मिलन चौकको थारु बस्तीमा रहेछ।

मिलन चौक पुगेपछि पनि धेरैलाई सोधेपछि मात्र थाहा भयो कान्छा दाई को घर। चौक बाट २०० मिटर उत्तर लागेपछि एक जनाले पुर्व तिर टिनले छाएको सानो दुई कोठे घर देखाइदिए। घर नजिकै पुगे केहि मानिसहरू बाहिर पट्टी सुकुलमा बसेका थिए। नयाँ मान्छे देखेर होला सबैले छक्क परे जस्तो गरि हेरे।

"भृकुटी चौकको चिया पसले कान्छा दाईको घर हैन?", मैले छक्क परेका अनुहार हरुलाई प्रश्न गरे‌।
"हो त हजुर", एक जना दिदिले उत्तर दिनुभयो। 
उत्तर संग संगै अर्को प्रश्न थपे," खै त अनि कान्छा दाई, निकै दिन पो भयो त हराउनुभएको त ।"

ति छक्क परेका अनुहार शुन्य भए। कोहि केहि बोलेनन्। एक जना बुढि आमाले आँसु खसाल्दै भन्नुभयो,"कन्छो त मोरिगेलु बउ ।"

अप्रिय घटना घट्यो कि बा भन्ने थियो त्यहिँ भएछ। हरेक दिन बिहान मुस्कुराउदै मलाई चिया दिने कान्छा दाई सम्झेर मलाई निकै दुःख लाग्यो। त्यस्तो हसिलो मान्छेलाई एक्कासी कसरी यस्तो भयो होला ?, कसैलाई सोध्न मन लाग्यो। तर त्यहाँ भएका नौला मान्छे संग मलाई गहिरिएर गफ गर्न मन भएन।

म ढोका सम्म पुगेर भित्र हेरे। मैले ३० औं वसन्त पार गरिसक्दा पनि यस्तो दृश्य देखेको थिइन। यो मेरो लागि बिलकुलै अनौठो थियो। मैले समचार चाहिँ सुनेको थिए छोरी मान्छे बाबुआमाको किरिया बसेको भनेर तर प्रत्यक्ष भने पहिलोपल्ट देख्दै थिए।

उनले कपाल समेत खौरिएर टाउकामा सेतो टालो हालेकी छिन्। शरिरमा सेतो कपडा बेरेर घ्यू रङको खास्टो ओढेको छिन्। उनको अनुहारको चमक हराएको छ। माघ फागुनको हावाले पात झारेर उजाडिएको रुख जस्तो भएकि छिन्। पितृसतात्मक सोच बोकेको समाजलाई ठाडो चुनौती दिदै आज एउटी "छोरी मान्छे" बुबाको किरियामा बसेकी छिन्।

चिया पसलमा भेट्दा खुलेर बोल्न नसक्ने म झन् यस्तो अवस्थामा कसरी के भनेर कुरा गर्ने खै, मेरो बोली नै फुटेन। म ढोका छेउमा नबोली बसिरहे। मलाई देखेर उनलाई केहि आश्चर्य लागेको थिएन। लाग्थ्यो उनी केहि महसुस नै गर्न सक्दिनन्। म उनलाई निहालेर हेर्छु। उनको सुन्दरतामा भने रत्तिभर नि कमी आएको थिएन। कमी थियो त केबल उनको मुस्कानको जसले उनको सुन्दरतामा छुट्टै उर्जा थहपिदिन्थ्यो।

निकै बेरसम्म नबोली बसेपछि उनले प्रश्न गरिन्,"कता बाट आइपुग्नु भयो नि?"
"कान्छा दाई बिरामी हुनुहुन्छ भन्नु भएको थियो। सधैं कान्छा दाईले बनाएको चिया खाने गरेको ,निकै दिन पसल पनि खोल्नु भएन। अनि उहाँकै पिरले खोज्दै खोज्दै यहाँ आइपुगे।" यति भनिसकेपछि फेरि मेेरो बोलि रोकियो । उनले पनि थप प्रश्न गरिनन्।

अझै केहि बेर त्यही बस्छु। अघि बोल्ने बुढि आमा भित्र पस्नु हुन्छ अनि, "यिटा छायारा एक्दम दुःख पेल्की" भन्दै आँसु खसाल्नु हुन्छ। भेट भएको दशौं दिनमा मैले उनको नाम सुने, "छाया"

मलाई हास्दै गफिदै हरेक दिन बिहान कान्छा दाईले चिया दिएको सम्झना आउँछ। छायाको हालत हेर्छु, चोट त उनलाई पो परेको छ त तर पनि कता कता मलाई पनि दुखेको महसुस हुन्छ। मलाई त्यहाँ बसिरहन सारै नरमाइलो लाग्छ। म त्यहाँ बाट निक्लिएर मिलन चौकको चिया पसलमा आउँछु। चियाको चुस्की संगै चुरोटको धुवाँ उडाउन थाल्छु। चिया र चुरोट ले त मलाई अझै बढि कान्छा दाई को झल्को आउँछ। कान्छा दाईको आकृति मेरो मानसपटलमा घुमिरहन्छ। मलाई चिया खल्लो लाग्न थाल्छ अनि चुरोटको धुवाँले निसास्सिन्छु।

दिक्दार भएर चिया पसल बाट निक्लिएर छेउको भट्टि तिर लाग्छु। "बहुते दिन मे माछ ख्या एल्है त दाजु", भन्दै भट्टिको भाइले ढोका बाटै स्वागत गर्छ।

"आजु तोर दाजु खाली बियर खेते", भन्दै भित्र प्रवेश गर्छु।

क्रमशः

छोरी मान्छे भाग‍‍‍- ०१

छोरी मान्छे भाग- ०३


Post a Comment

0 Comments