Ticker

6/recent/ticker-posts

बुबाको हौसला र साथले मृत्युलाई समेत जित्न सफल भए; कुसेऔंसी विशेष




    आज कुसेऔंसी बिहानै बुबालाई फोन गर्न २-३ चोटि प्रयास गरे। अझै पनि पहाडमा फोन भन्ने बित्तिकै के लाग्थ्यो र। फ्रेस भइ चिया पिएपछि फेरि फोन गरे। ३-४ चोटी को प्रयासपछि यो पालि चाहिँ फोन लाग्यो। बुबा संगै हुनेले मिठाई, फलफूल दिने, मिठो परिकार बनाएर खुवाउने, उपहार दिने गर्छन्। तर यो फोनमा कसरी मनाउने हो यो कुसेऔंसी मैले अझै जानेको छैन। ढोग गरेर खबर सोधेपछि ल है बुवा कुसेऔंसीको धेरै धेरै शुभकामना छ है भने। हास्दै बुवाको उत्तर आयो ल ल थ्याङ्क यू। बुवाको थ्याङ्क यू पछि भाइ बोल्न थाल्यो।

हरेक वर्षको कुसेऔंसी प्राय बुवा खोटाङ र छोरो विराटनगर भइ फोनमै मनाउने गरिन्छ। तर यो भन्दा अगाडिका सालमा भने कुसेऔंसी अलिक फरक हुनेगर्थ्यो। बुवा छोराको औंसी फोन मै भएता पनि घरमा हामी संग बुबाको पनि बुवा हजुरबुबा हुनुहुन्थ्यो। प्रत्येक साल भाइ र मेरो कुसेऔंसीको दिन हजुरबुबाको पाउ ढोगेपछि सुरु हुनेगर्थ्यो। तर यो साल हजुरबुबा हामी माझ हुनुहुन्न। २०७६ साल पुष १३ गते आइतबार बिहान ३:२५ बजे हजुरबुबा आफ्नो भौतिक शरिर र हामी लाई छोडेर जानुभयो। हजुरबुबा रहुन्जेल म सधैं हजुरबुबा को सामिप्यता मै बसे । म दुई वर्ष को हुँदा आमा जागिर को शिलशिलामा १८ महिने तालिममा जाँदा हजुरबुबाले मलाई संगै जानदिनुभएन रे। घरबाट टाढा तालिममा आमाले राम्रो रेखदेख गर्न पाउनुहुन्न भनेर जान नदिनु भएको अरे। राति सुत्ने बेलामा म रुँदा हजुरबुबाले मेेरो मुखमा चिनी हालिदिनुहुन्थ्यो अनि म चुपचाप निदाँउथे रे। म हजुरबुबाको हात समातेर हिड्न सिकेको, हजुरबुबा को काधँमा पिसाब फेरेर हुर्केको। अझ मेरो बुबा को संघर्ष म शब्दमा बयान गर्न सक्दिनँ। दुर्गम पहाडमा गरिबि संग जुधेर, खान लगाउन पनि मुस्किल पर्ने बेलामा पढ्नुभयो। बुवा कहिलेकाहीँ सम्झनुहुन्छ अंशमा पाएको गाइको बाछि बेचेर पढेको। संघर्षका अनेकौं अफ्ठ्यारा खुड्किला चढ्दै बुबाले हामीलाई खोटाङ बाट विराटनगर ल्याउनु भयो। विराटनगर को घर बन्दै थियो। मेरो पढाई सुरु गर्नुपर्ने उमेर भैसकेकाले चाडै आउनुपर्यो भयो। घर नै नबन्दा पनि दिदिलाई चाहि विराटनगर मा होस्टेलमा राखेर पढाउने कुरा भएको थियो रे। तर बुबालाई छोरीको असाध्यै मायाले गर्दा होस्टेलमा राख्न मान्नुभएको कुरा आमा अहिले पनि कहिले काहीँ सम्झिनु हुन्छ। पहिलेको समय अलिक फरक थियो धैरेले छोरा भैदिए हुन्थ्यो भन्थे। तर छोरी जन्मिदा हाम्रो बुबाले चाहिँ खुसिले खसि काट्नु भयो रे। हजुरबुबा त्यस्तै फुपु जन्मिदा फुपुलाई बोकेर गाउँ डुलाउनु भएको थियो रे मेरो छोरी जन्मि भनेर‌। अब मलाई पढाउन विराटनगर त पठाउने तर को संग किनभने बुबा आमा दुबै जनाको जागिर खोटाङ मै थियो अनि घरमा बिरामी हजुरआमा र हजुरबुबा। नातिलाई पढाउन भनेपछि हजुरबुबा आफु जन्मेहुर्कको, आफुले पौरख गरेको ठाउँ चट्टकै छोडेर मलाई लिएर विराटनगर आउनुभयो। हजुरबुबाले मलाई पकाइ खुवाइ गरेर स्कुल पठाउनु हुन्थ्यो। दिउँसो खाजा लिएर जानुहुन्थ्यो। म अझै पनि सम्झन्छु स्कुल जाने बेलामा म प्राय जुत्ता उल्टो लगाउने गर्थे अनि हजुरबुबाले सुल्टो बनाइदिनु हुन्थ्यो। पछि निकै बुढेसकाल लागेसी हजुरबुबा शारीरिक र अझै बढि मानसिक रुपमा कमजोर हुनुभयो। होष पाउन छोडेसी हजुरबुबा जुत्ता चप्पल उल्टो लगाउनुहुन्थ्यो अनि म सुल्टो पार्थे। हजुरबालाई पकाएर खुवाउने, लुगा लगाइदिने, दारी कपाल काटिदिने, नुहाइदिने गर्थे। अलि पछि पढाई र काममा व्यस्त भएपछि मेरो भन्दा बढि भाइले गर्यो। अझ सबै भन्दा बढि दुख त आमाले गर्नुभयो। होष गुमेपछि कहिलेकाहीँ हजुरबुबाले घरकै मान्छेलाई पनि चिन्न छोड्नु भएको थियो ‌। छोराबुहारी छोरीलाई पनि चिन्दिनँ भन्नु हुन्थ्यो। तर हामी नाति-नातिनीलाई चाहिँ कहिल्यै चिन्दिन भन्नुभएन। होष गुमाउँदा समेत मलाई एकदमै माया गर्नुहुन्थ्यो, बा भनेर जिस्काउदा मुसुक्क हास्नुहुन्थ्यो र औँला ले मेेरो नाकमा छुनुहुन्थ्यो।

हजुरबुबाको जीवनको अन्तिम वर्ष भने हजुरबुबा सामिप्यतामा त्यति बिताउन पाइन। २०७५ सालको माघ महिनामा अत्याधिक खोकि लागेर अनुहार सुनिनानले जँचाउदा क्यान्सर देखियो। त्यसबेला बुबा खोटाङ मै हुनुहुन्थ्यो। रिपोर्ट हेर्ने डाक्टर अतालिएको देख्दा मैले जिउने आश नै गुमाइसकेको थिए। आमाको होस् उडेको थियो आफू समालिने कि छोरोलाई सम्झाउने। खबर सुन्नासाथ बुबा खोटाङ बाट हिड्नु भयो। यता घरमा दिदि, भिनाजु लगायत धेरै जम्मा भएका थियौं। सबैले मलाई हौसला दिनुभयो। हौसला दिने मान्छे आफै डराएको महशुस म गर्न सक्थे। मलाई असाध्यै माया गर्ने आमा र दिदीको मलिन अनुहार देख्दा म अझ बढि कमजोर हुन्थे। जब बुबा आएर डराउनुपर्दैन छोरा अहिले उपचार नहुने केहि छैन, मानिसका अगं समेत फेर्न मिल्छ, जति खर्च लागे पनि जहाँ लग्नु परेपनि म छु भन्नु भयो, तब मैले राहतको सास फेरे। बुबाको यहि हौसलाले मैले जुन आत्मबल प्राप्त गरे त्यही आत्मबलले मैले क्यान्सर जस्तो रोगलाई समेत पछार्न सफल भए। छोरा गुमाउछु कि भन्ने पिरले आमाका आखाँ बाट बगेका आँसुका धारा, बुबाको साथले मृत्युलाई जितेर पुछ्न सफल भए। यस अफ्ठ्यारा घडिमा मलाई मात्र नभएर बुबालाई समेत साथ दिने भिनाजु र मलाई नँया जिवन दिने डाक्टरलाई पनि बुबाकै अवतारमा पाए। भारतको राजधानी दिल्ली स्थित राजिब गान्धी क्यान्सर इन्स्टिच्युट एवं रिसर्च सेन्टरमा झन्डै वर्ष दिन उपचार पछि म पहिले कै रुपमा फर्किदै थिए।

साँच्चै भन्नुपर्दा पहिलेको भन्दा अझैं राम्रो। म ठिक हुनु पनि अनि हजुरबुबा थला पर्नु उस्तै समयमा भयो। २०७६ साल पुष को पहिलो हप्ता हजुरबुबा जिवनका अन्तिम अवस्थाबाट गुज्रिरहनु भएको थियो। त्यसबेला हजुरबुबाका छोराबुहारी, छोरी, नातिनातिनी थुप्रै जम्मा भएका थियौं। हजुरबुबा चटपटाउन नसक्ने हुनुभएको थियो। बोल्नुपनि हुन्न थियो। चम्चि ले अलि अलि पानि सम्म निल्नु हुन्थ्यो। यस्तो बेला समेत बा म हजुरको जेठो नाति चिन्नुभयो भन्दा मुन्टोले इशारा गरेर चिने भन्नुहुन्थ्यो। यो १०-१२ दिन म हजुरबुबा कै साथमा बसे। हजुरबुबाको माया, हजुरबुबाले मेरो लागि गर्नुभएको त्याग सम्झिदै नचाहादा नचाहादै हजुरबुबालाई पुष १३ गतेको बिहान बिदाई गर्नुपर्यो। हजुरबुबाले सबैलाई भन्ने गर्नुहुन्थ्यो यहि नाति हो मेरो मरेपछि काँध थाप्ने भनेर। हजुरबुबा इच्छा बमोजिम हजुरबुबाले नै रोप्नुभएको बासमा, हजुरआमाको अन्त्यष्टी गरेको ठाउँ, परोपकार घाटमा लगियो। हजुरबुबाले भनेजस्तै मैले पनि काँध थापेर अघि अघि हिडे। हजुरबुबा को चिता जल्दै गरेको पल मेरा लागि जिन्दगी को सबैभन्दा कठिन मोड थियो। यसो सम्झन्छु अहिले पनि पहिलेका बुढाबुढीहरु आफु जन्मे हुर्केको, आफुले पौरख गरेको ठाउँ छोड्न चाहादैनन्। जीवनको अन्तिम सास त्यही ठाउँमा फेर्न चाहान्छन् । तर हजुरबुबा मलाई पढाउन कै लागि यी सबै कुरा त्याग गरेर विराटनगर आउनुभयो । धुवाँ बनेर उड्दै गर्नुभएको हजुरबुबाको त्याग सम्झँदा मलाई असह्य पिडा हुन्छ। मलाई समालिन गाह्रो हुन्छ अनि बुबाले भनेको कुरा सम्झन्छु," बुढा भएको हजुरबुबा जानुभयो यो प्रकृतिको नियम हो, तिमीहरुको बाउ म छँदै छु के पिर गर्छौ नरोऔ।" यहि बुबाले म छु नि भनिदिनाले जीवनका अनेकौं कठिनाइ संग सजिलै जित्न सकेको छु। बुबाका कानमा परेका मेरा हरेक सपनाहरु पुरा भएका छन्। बुबाले दिनुभएको माया, हौसला, साथ र हाम्रा लागि गर्नु भएको त्यागका लागि खै के दिउँ बुबालाई आज कुसेऔंसीको शुभदिनमा?

- तुलसी घिमिरे

(tulcghimire.ca@gmail.com)


Post a Comment

3 Comments