Ticker

6/recent/ticker-posts

छोरी मान्छे भाग- ०१

 




    बिहान ठिक ५ बजे अल्राम बज्छ। सधैं जसो उठेर फ्रेस भइ क्याम्पस तिर लाग्छु। हरेक दिन क्याम्पस जाँदा मेरो बाइक भृकुटी चौकमा रोकिन्छ, कान्छा दाइको चिया पसल अगाडि। तर आज अलि फरक भयो। झन्डै दुई वर्ष को अन्तरालमा पहिलो चोटि कान्छा दाइलाई देखिन। पसलमा आज एक युवती छिन्। निलो भुइँमा पहेलो बुट्टे कुर्था लगाएकि अनि कालो लामो कपला, पातलो र अग्लो शरिर भएकी।

बेन्चमा बस्दै एक कप मिठो चिया पाउ त हजुर भन्छु। मैले त्यति भनेपछि पछाडि फर्किन्छिन्। आहा! कति उज्यालो चिटिक्क परेको अनुहार, "अर्गानिक" बिना कुनै मेकअप। झन् त्यो सानो कालो टिकाले अझ कति सुहाएको। म दङ्ग पर्छु। 

"लेमन टि कि दुध हालेको?", मिठो सानो स्वरले सोध्छिन्। 


"दुध बढि, पानी कम, चियापत्ति कडा चिनी हल्का" भन्दै उत्तर दिन्छु।

 म सधैं आउने ग्राहक, कान्छा दाइले त केहि नसोधी चिया र चुरोट दिन्थे। तर आज कान्छा दाइ कता गएछन् कुन्नि मनमा उत्सुकताले वास गर्छ। "कान्छा दाइले पसल बेचे कि क्या हो? हैन होला हिजो त त्यस्तो केहि भनेन् त अनि। पक्कै उनको छोरी होला ।", मनको उत्सुकता आफै मेटाउने प्रयास गर्छु। केहि बेरपछि मेेरो छेउमा चिया राखिदिएर उनी अरु नै काममा व्यस्त हुन्छिन्। मलाई बिहान चिया संग चुरोट नभइ हुन्न । तर किन हो किन उनलाई बोलाउन असहज लाग्छ त्यो पनि चुरोट माग्न। फस्ट इम्प्रेसन नै खराब होला भनेर आज चुरोट नखाने विचार गरे। उनी संग गफ गर्न मन थियो, मनका सारा उत्सुकता मेटाउन मन थियो। तर खै गफ गर्ने आँट गर्नै सकिन। बस चिया पिउदै उनलाई नै हेरिरहे। उनलाई हेर्नै रमाईलो लाग्यो। चिया खाइसकेर पैसा तिर्दा कान्छा दाई फ्लप मिठो चिया खुवाउनु भयो भने। उनले मुसुमुसु हास्दै पैसा फिर्ता दिइन्। आहा! कति मिठो मुस्कान झन् रमाइलो लाग्यो। 

सधैंको बानि चुरोट नखाइ त चित्तै बुझेन । अघिल्लो पसलमा गएर चुरोट खान्छु अनि क्याम्पस तिर लाग्छु। बाटोमा फेरि उनलाई सम्झन्छु भोलि फेरि आउने पो हो कि हैन? आइनन् भने त लभ स्टोरी सुरु हुनै नपाई खत्तम पो हुन्छ त , मन खिन्न हुन्छ। फेरि क्याम्पस सम्झन्छु । विद्यार्थी ढिलो आँउदा बाहिर उभिन लगाउने सर आफै ढिला पुगे भने त वित्यो त। अनि हतारिएर बाइको स्पिड बढाउछु।


    भोलिपल्ट बिहानै ४:४५ मा अल्राम बज्छ। सधैं भन्दा १५ मिनट अगाडि किनभने आज मलाई चाडै पुग्नु छ उनलाई भेट्न। हुन त म हिजै पनि कलेज पछि फेरि गएको थिएँ तर पसल बन्द थियो। आज पनि पसल बन्द हुने हो कि, खुले पनि कान्छा दाई नै आउने हुन् कि भन्ने पनि डर छ। कस्तो अचम्म हिजो मात्रै त देखेको। फेरि खुलेर गफ समेत गरेको छैन। न चिनेजानेको नै छ। अझ उसै संग भेट नहुने हो कि भन्ने डर छ। मनमा अनेकौ कुरा खेलाउदै कान्छा दाईको चिया पसलमा पुग्छु। 

आज दोस्रो दिन पनि कान्छा दाई छैनन्। निलो भुइँमा सेतो बुट्टे सुतीको सारी अनि फिक्का निलो ब्लाउज लगाएकि युवती चिया पकाउदै छिन्। मन खुसी हुन्छ, भित्र पस्छु अनि बस्दै भन्छु ,"चिया खाइ दिउन हजुर।" उनी म तिर फर्किन्छिन्। "अति सुन्दर", कति राम्री,कति सरल, "सिम्पल" । उनको यहिँ सरलता ले त मलाई पहिलो भेटमै आकर्षित गर्यो। 

उनले गिलासमा चिया हालेर मलाई दिँदै भन्छिन्,"हाम्रोमा चुरोट पनि पाउँछ है।" 

लौ खतम, हिजो अर्को पसलमा गएर खाएको त देखिछन् पो। तर उनलाई पक्कै नपाउने भएरै त्यहाँ खाएजस्तो लग्यो होला। अब पोल खुलेपछि लुकाउनुको अर्थ नै थिएन। त्यसपछि चुरोटको माग्छु अनि सल्काउदै गफको पोको खोल्ने प्रयास गर्छु," खै कता जानुभएछ कान्छा दाई, आउनै छाड्नुभयो त?" 

उम्लिदै गरेको चिया चलाउदै भन्छिन्, "बुवा विरामी हुनुहुन्छ।" 

"तपाईं उहाँको कुन छोरी मेरो मतलब छोराछोरी कति जना?", फेरी प्रश्न गर्छु। 

"म एक्ली छोरी।" 

"ए ए अनि के भएछ त दाइलाई अस्ति सम्म त ठिकै देखिनुहुन्थ्यो त", कुरा लम्ब्याउने प्रयास गर्छु।

नैराश्यता का साथ भारी स्वरले खै भन्छिन् अनि आफ्नै काममा व्यस्त हुन्छिन्। मलाई अझै कुरो खोतल्न मन लाग्दैन। पहिलो चोटी उनको अगाडि खल्लो महसुस गर्छु। अन्य ग्राहक पनि आएपछि उनी झनै व्यस्त हुन्छिन्। चिया चुरोट सकेपछि म पनि क्याम्पस तिर लाग्छु। 


    अर्को दिन पनि १५ मिनट अघि पुग्छु तर पसल बन्द हुन्छ। यसरी पसल लगातार ६ दिन सम्म बन्द नै रहन्छ। सातौं दिन भने ७ बजेसम्म पर्खन्छु कतै ढिला पो खोल्न थाले कि भनेर। सातौं दिन अबेरसम्म नखुलेपछि मनमा कौतुहलता जाग्छ‌, " कतै पसल गर्नै छोडेका हुन् कि ? कान्छा दाई झन् सारो बिरामी परे कि? कुनै अप्रिय घटना पो घट्यो कि?" उनको त नाम समेत थाहा नपाई फेरि भेटै नहुने हो कि भनेर मन खिन्न हुन्छ। भोलि शनिबार चाहिँ  घर पत्ता लगाएर उतै जाने सोच बनाउछु अनि क्याम्पस तर्फ लाग्छु‌।


क्रमशः

छोरी मान्छे भाग- ०२

कमरेड (चोखो मायाको परिभाषा)

Post a Comment

0 Comments